२०८२ मंसिर १८, बुधवार , १२:१७:१४ बजे

Sajhamanch
'

मुख्यमन्त्री नै नआएपछि दिउँसो २ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

बुधवार, मंसिर १८, २०८२

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घन्टा ढिला सुरु भएसँगै सारिएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।

प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नु भएको हो ।

तर, करिब साढे १० बजेसम्म मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा आउनु भएको छैन। विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८ः३० बजे आएर प्रदेश सभामा कुरिरहेका छन् । नेकपा (एमाले)का समेत केही प्रदेश सांसदहरू आइसकेका छन् ।

मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८ः३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए ।

तर मुख्यमन्त्री यादवले विगतमा पनि विश्वासको मत लिन मुख्यमन्त्रीहरूले आग्रह गरेअनुसार समय निर्धारण गरेपनि विपक्षी दलहरूको उक्साहटमा उपसभामुखले बिहान साढे आठ बजे नै समय तोकेको गुनासो गर्नुभयो ।

‘विगतमा पनि मुख्यमन्त्रीहरूले विश्वासको मत लिन पठाएको पत्र अनुसार समय निर्धारण गरिएको थियो। तर मैले पठाएको पत्र अनुसार नगरेर उपसभामुखले दलहरूको उक्साहटमा आज बिहानै प्रदेशसभा बैठक राख्नुभयो,’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो।

उपसभामुख ईशरले पुनः कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर मुख्यमन्त्री यादवले मागेकै समयअनुसार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।