
काठमाडौं । यस वर्ष विभिन्न समयको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति पुग्दा धानसहित अन्य बालीको उत्पादनमा कमी आउने भएको छ ।
बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्करविवरण सङ्कलन तथा विश्लेषणको लागि गठन भएको समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हालै प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार बेमौसमी वर्षाबाट मुख्यगरी प्रभावित पाँच वटा प्रदेशमा प्रभावित कूल क्षेत्रफल १५ हजार ४९९ हेक्टरमा विभिन्न कृषि उत्पादन प्रमुख बाली धानसहित उखु, तरकारी र फलफूलको उत्पादनमा एक लाख २७ हजार ३८३ मेट्रिक टन घटी हुने अनुमान छ ।
झन्डै तीन अर्ब ५४ करोड ६१ लाख चार हजारको आर्थिक क्षति पुर्याएको अनुमान गरिएको छ । जसमा मधेश प्रदेशमा सबैभन्दा बढी तीन अर्ब २२ करोड ४७ लाख १९ हजारको आर्थिक नोक्सानी भएको देखिन्छ ।
क्षतिका हिसाबले मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । मधेश प्रदेशको आठ वटै जिल्लामा धानबालीमा क्षति भएको छ भने तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन् । कोशी प्रदेशमा ३६ करोड ८३ लाख ८९ हजार बराबरको क्षति भएको छ । जसमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् ।
बागमतीमा दुई करोड चार लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको समितिका संयोजक तथा कृषि मन्त्रालयका सहसचिव जगनाथ तिवारीले जानकारी दिनुभयो । समितिले बाढी पहिरोबाट प्रभावित साना किसानको उत्थानका लागि पशुपन्छीपालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने सुझाव पनि दिएको छ ।


