
विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ ।
पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय हुन् । उनीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको प्रहरीले जनाएको छ ।
जेन्जी आन्दोलनक्रममा अन्सारी आफैँले आगजनी र तोडफोड गरेको घटनाको भिडियो टिकटकमा सेयर गरेका थिए । त्यसपछि उनले भिडियो हटाएर केहीदिन बेपत्ता भएका थिए । माओवादीसहित अन्य दलका बीचमा एकता भएपछि उनी सार्वजनिक भएका थिए । नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी मोदीकै अघिपछि देखिँदै आएका थिए ।
अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडक्रममा प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियोसमेत सार्वजनिक भएको थियो । पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।
अन्सारीलगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवालाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेका छन् । सरकारी भवन र व्यक्तिका घरमा आगजनी तथा लुटपाट गर्ने कोही पनि नछुट्ने प्रहरीको दाबी छ ।
नेपाली कम्युनिष्ट पार्टीमा रहेका अन्सारी सोमबार विराटनगरमा हुने पार्टीको सभाका लागि आर्थिक संकलनको जिम्मेवारीमा समेत रहेको स्रोतको दाबी छ । उहाँले विराटनगरका विभिन्न निजी शैक्षिक संस्थामा चन्दा माग्दै पत्र बुझाउँदै हिँडनु भएको थियो । मोदीले भन्नुभयो अन्सारी आफ्नो स्वकीयबाट हटिसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रमाणका आधारमा घटनामा सम्लग्न भएको भए प्रहरीले अनुसन्धान गरोस् ।’


