२०८२ मंसिर १६, सोमवार , १०:३३:५९ बजे

Sajhamanch
'

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

सोमवार, मंसिर १६, २०८२

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो ।

यसअघि विभागले गएको असोज १३ गते सूचना निकाल्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो ।

घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ । विभागले पहिलो चरणमा ६ वटा महानगरपालिका र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

विभागका अनुसार गएको कात्तिकमा घरजग्गा कारोबारबाट दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४१३ रुपैयाँ, रजिष्ट्रेशन शुल्क एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ, पूँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ बराबर सङ्कलन भएको थियो ।

सम्बन्धित खबर