२०८२ मंसिर १६, सोमवार , १०:३५:३९ बजे

Sajhamanch
'

बाढी र पहिरोपछि श्रीलङ्कामा आपतकाल घोषणा, ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो

सोमवार, मंसिर १६, २०८२

झापा । श्रीलङ्कामा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३३० भन्दा धेरै पुगेको छ । श्रीलङ्का अहिले दशकौँपछि आएको सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपसँग जुधिरहेको छ ।

श्रीलङ्काको डिजास्टर म्यानेजमेन्ट सेन्टरका (विपद् व्यवस्थापन केन्द्र) का अनुसार २०० भन्दा धेरै मानिसहरु बेपत्ता छन् भने झन्डै २० हजार घर पूर्ण रूपमा क्षति भएका छन् ।

१ लाख ८ हजारभन्दा धेरै नागरिक अस्थायी शिविरहरूमा बस्न बाध्य भएका छन् । देशको झन्डै एक तिहाइ भूभागमा विद्युत् तथा खानेपानी आपूर्ति अवरुद्ध भएपछि सरकारले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति अनुरा कुमारा डिसानायकेले यो प्रकोपलाई ‘देशको इतिहासकै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपत्ति’ भन्दै क्षतिको स्तर गणना गर्न नै कठिन भएको बताउनुभएको खबरमा उल्लेख छ ।

केलानी नदीको पानी सतह तीव्र रूपमा बढिरहेका कारण केही क्षेत्रमा उद्धार तथा सुरक्षित ठाउँमा सार्न भनिएको छ । कान्डी र बडुल्ला जिल्ला सबैभन्दा धेरै प्रभावित छन् ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ र विदेशमा रहेका आफ्ना नागरिकलाई पनि सहयोग रकम पठाउन आग्रह गरेको छ । दक्षिणपूर्व एशियाका अरु देशहरु इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा पनि वर्षौँपछि देखिएका ठूला बाढीका कारण लाखौँ मानिसहरु प्रभावित भएका छन् ।

सम्बन्धित खबर