
काठमाडौं । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् ।
४ मंसिर २०७९ को प्रतिनिधिसभाको चुनावमा ८४ वटा दलले सहभागिता जनाएका थिए । यसपटक यो संख्या उल्लेख्य बढेको छ ।
निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या भने १३९ पुगेको छ । बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् ।
बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए । यससँगै जेनजी आन्दोलनपछि मात्रै दर्ता हुने नयाँ दलको संख्या २३ पुगेको छ ।


