
झापा । हङकङको ताइ पो क्षेत्रमा भएको आगलागीमा कम्तीमा ४४ जनाको ज्यान गएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ४५ जना गम्भीर अवस्थाका घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
हिजो दिउँसो शुरू भएर बेलुकीपख अत्यन्तै फैलिएको आगलागीमा परी २७९ जना हराइरहेका हङकङ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै खुलेको छैन । आगलागी शुरू भएको १८ घण्टा अर्थात आज बिहानसम्म पनि पुरै निभाइसकेको छैन ।
प्रहरीले निर्माण कम्पनीका तीन जनालाई पक्राउ गरेको छ । भवन निर्माणमा लापरबाही गरेको आरोपमा कम्पनीका दुई जना सञ्चालक र एक जना सल्लाहकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आगो शुरू हुँदा कम्प्लेक्सको मर्मतसंभार भइरहेको थियो ।
गुणस्तरहिन निर्माण सामग्रीको कारण आगो छिटो फैलिएको अग्नी नियन्त्रकहरुले बताएका प्रहरीले जनाएको छ ।


