
झापा । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई तत्कालै २७ वर्ष ३ महिनाको जेल सजाय शुरू गर्न आदेश दिएको छ ।
गएको चुनावमा हारेपछि सत्ता उल्ट्याउने, प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा अदालतले पूर्वराष्ट्रपति बोल्सोनारोलाई दोषी ठहर गरेको थियो ।
न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले मुद्दाको अन्तिम निर्णय भइसकेको र अब पुनरावेदन हुन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
यस्तै न्यायाधीश मोरेसले बोल्सोनारोलाई पूर्ण समय चिकित्सा सेवा प्रदान गर्न आदेश दिनुभएको खबरमा उल्लेख छ । बोल्सोनारोको चिकित्सा टोलीले पहिले नै उनको स्वास्थ्य बिग्रँदै गएको बताएको थियो ।
अब ७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा सजाय शुरू गर्ने खबरमा उल्लेख छ । उनी गएको शनिवारदेखि हिरासतमा छन् ।
बोल्सोनारोलाई सार्वजनिक पदमा सन् २०६० सम्म उम्मेदवार हुनबाट पनि प्रतिबन्ध लगाइएको छ । आफूलाई सन् २०२६ को राष्ट्रपतीय चुनावमा सहभागी हुन नदिनका लागि यी सबै प्रपञ्च रचिएको उनको दाबी छ ।
घरमै नजरबन्दमा रहँदा ‘एङ्कल मनिटर’ हटाउन खोजेपछि पूर्वराष्ट्रपति बोल्सोनारोलाई हिरासतमा लिइएको थियो । नजरबन्दमा रहेका व्यक्तिको क्रियाकलापलाई निगरानी गर्न खुट्टामा एङ्कल मनिटर राखिएको हुन्छ । पछि उनले एङ्कल मनिटर खोल्ने प्रयास गरेको स्वीकार गरे तर भाग्ने आफ्नो कुनै मनसाय नभएको बताए ।


