२०८२ मंसिर ११, बुधवार , ०३:१२:०७ बजे

Sajhamanch
'

झापामा ३०० भन्दा बढी बालबालिकामा अटिजम

बुधवार, मंसिर ११, २०८२

झापा । जिल्लामा ३८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्।

यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार २५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरूलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ।

जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपांगता भएका व्यक्तिमध्ये ३८१ जना बालबालिकामा अजिटमको समस्या छ। प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरु गरेको हो। कार्यक्रम इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, सङ्खुवासभामा सञ्चालन भएको थियो।

झापा, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सम्झौताअनुसार गत वर्षदेखि अपांगता पुनःस्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको संयोजक घिमिरेले जानकारी दिनुभयो।

जिल्लामा अटिजम भएका करिब सय जनालाई बिर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ। यी दुवै विद्यालयमा अटिजम भएका बालबालिकाले पालिकाबाट निःशुल्क थेरापीसहितको सेवा पाइरहेका छन्।

भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् भने अन्य पालिकाले समुदायमा छलफल थालेका छन्।