२०८२ मंसिर १०, मङ्गलवार , ०८:१३:५९ बजे

Sajhamanch
'

बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजना पदमुक्त

मङ्गलवार, मंसिर १०, २०८२

झापा । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजनालाई पदमुक्त गरेको जनाएको छ । बिर्तामोडमा चलिरहेको पसल सञ्चालन गर्न छाडेर प्रसाईंको पछि लागेका लुइँटेल सहकारी र लघुवित्तका सञ्चालकलाई दूव्र्यहार गर्ने तथा २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्छ भन्ने अभियानमा अग्रसर थिए ।

अभियानका सङ्गठन विभाग प्रमुख प्रेम थापा मगर र सङ्गठन विभाग सचिव प्रेमदिप लिम्बूले आज प्रेस विज्ञप्ति जारी गरी सचिवालय सदस्य लुईटेल, केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेती, सचिवालय सदस्य, युवा तथा खेलकुद विभाग संयोजक बिष्णुजङ्ग बस्नेत र केन्द्रीय सदस्य तथा पीडीएफ सहसंयोजक गोपाल बोहरालाई सबै जिम्मेवारीबाट हटाई निष्कासन गरिएको जनाएका छन् ।

उनीहरुलाई कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अभियानको लक्ष्य, एकता विश्वासलाई धुमिल पारी खलल पुर्‍याएको, अभियन्ताहरु बीच गलत भ्रम फैलाउने कार्य गरेको, पीडितहरुलाई न्याय दिनुपर्नेमा उल्टै पीडितहरुबाट आर्थिक असुलीको धन्दा चलाउने कार्य गरेको, सङ्गठनमा गुट बनाई अराजकता फैलाएको, पीडित नागरिकहरुको कागजपत्र जफत गरी, ब्ल्याकमेलिङ गरी आर्थिक मोलमोलाई गरेको, सङ्गठनको चेनअफ कमान्ड पटकपटक उल्लंघन गरेको, नेतृत्व र महाअभियानलाई गम्भीर क्षति पुर्‍याउने कार्य गरेकोले आजको मितिबाट लागु हुनेगरी उनीहरुलाई सबै प्रकारको जिम्मेवारीहरुबाट पदमुक्त गरिएको छ ।’

कार्वाही गरिएकाहरुसँग अभियानका अभियन्ताहरुले कुनै पनि प्रकारको संगत र गतिविधि नगर्न हुन सचेत गराइएको विज्ञप्तिमा ‘यदि पीडितहरु कार्वाही गरेकाहरुसँग फसे अभियान अथवा आफ्‌नो संगठन जिम्मेवार नहुनेसमेत सचेत गराइएको छ ।

सम्बन्धित खबर