२०८२ मंसिर १०, मङ्गलवार , ०८:१०:४९ बजे

Sajhamanch
'

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्धको अभियान विभिन्न कार्यक्रम गरी मनाइँदै

मङ्गलवार, मंसिर १०, २०८२

मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो ।

मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, उजुरी गरौँ, प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसा विरूद्वको शून्य सहनशीलता लागू गरौँ लगायतका नारा र प्लेकार्डसहित प्रभातफेरी गरिएको थियो ।

कोण सभामा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लैङ्गिक हिंसा रोक्न आफ्नो व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिनुभयो । यो अभियान नगरपालिकाले निरन्तर चलाइरहने नगर प्रमुखको भनाई छ ।

सभामा उपप्रमुख मीना पोखरेल उप्रेतीले पुरूष र महिला नमिलेसम्म यो हिंसा नरोकिने बताउँदै पुरूष–महिला सबै मिलेर हिंसाहरू रोक्नुपर्ने औंल्याउनु भयो ।

अग्रज पत्रकार मोहन काजीले समाजमा लैङ्गिक हिंसा रोक्न सबै एकजुट हुनु पर्ने बताउनु भयो ।

सभाका अर्का वक्ता असल मित्र नेपालका अध्यक्ष रमेश गुरूङले १६ दिनसम्मको अभियान घर–घरसम्म पुर्याउन सबै सामाजिक संघ–संस्था लाग्नु पर्नेमा जोड दिनुभयो ।

प्रभातफेरीमा नगर क्षेत्रका सामुदायिक विद्यालयबाट विद्यार्थी, शिक्षक, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, नगरप्रहरी, सुरक्षाकर्मी लगायत स्थानीयबासीहरूको सहभागिता थियो ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको अभियानको पहिलो दिन हस्ताक्षर र प्रभातफेरीसहितको र्याली सम्पन्न भएको हो ।

कोणसभाको सञ्चालन नगरपालिकाका महिला विकास अधिकृत जयन्ती खरेलले गर्नुभएको थियो ।

१६ दिने लैङ्गिक हिंसा विरूद्वको अभियान अन्तरगत मंसिर १० गते कक्षा १२ का विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी प्रशिक्षण, ११ गते सामुदायिक विद्यालयमा कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीबीच युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता, १४ गते मुस्लिम र दनुवार समुदायको महिलाहरूलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गरिने छ ।

यस्तै १५ गते कलेजका विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्स सम्बन्धी सचेतना, १७ गते विश्व अपाङ्गता दिवसको अवसरमा १५ वटै वडाको मिलीजुली समूहलाई विभिन्न खेलकुद प्रतियोगितात्मक गतिविधि सञ्चालन गरिने, २२ गते मर्यादित महिनावारी दिवसका दिन वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूसँग अन्तरक्रिया र १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकसँग छलफल कार्यक्रम गरिने जनाइएको छ ।

सम्बन्धित खबर