
सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ ।
बोराबाँधस्थित कोशी नदीमा देखिने सूर्यास्तको मनमोहक दृश्य युवाहरुका लागि आकर्षणको केन्द्र बन्दै गएकामा स्थानीय पर्यटन व्यवसायीले मोटर बोटसमेत सञ्चालन गरेपछि कन्टेन्ट क्रियटरका साथै आन्तरिक पर्यटकहरुको समेत घुइँचो बढ्दै गएको हो ।
कोशी किनारमा घुइँचो बढ्दै गएपछि स्थानीय साना व्यवसायीका लागि समेत आम्दानीको स्रोत बन्दै गएको छ । कोशी किनारमा अहिले केही फास्टफुड पसलहरु खोलिएको देख्न सकिन्छ ।
‘तल्लो भागमा बालुवा, बीचमा सप्तकोशी नदीको चिसो पानी, अलिपर डुब्न लागेको घामको सौन्दर्य अनि पानीको छायाँमा मोटरबोट सरर,’ स्थानीय सञ्चारकर्मी भीषण राई भन्छन्, ‘सुनौलो सूर्यास्त हेर्न आतुरहरुको भीड दिनदिनै बढ्दो छ ।
कन्टेन्ट क्रियटरका रुपमा पर्यटनको क्षेत्रमा काम गरिरहेका उनले पछिल्लो समय कोशी नदीको पर्यटनको विकासलाई आफ्नो सञ्चारमाध्यममार्फत प्रवर्धन गरिरहेको बताउँछन् । कोशी नदीमा आधारित पर्यटनको विकासले वराहक्षेत्रको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन हुने उनको अपेक्षा छ ।
‘सूर्योदय हेर्न इलामको श्रीअन्तु पुगिन्छ भने सूर्यास्तको अवलोकन गर्न सुनसरीको वराहक्षेत्रस्थित कोशी किनार उपयुक्त ठाउँ हो,’ सञ्चारकर्मी राई भन्छन्, ‘हामीले देश–विदेशमा यो यथार्थलाई प्रचारप्रसार गर्न सक्नुपर्छ । पर्यटनको विकास र रुपान्तरण पनि यहीँबाटै सुरु गर्नुपर्छ ।‘
धार्मिक तीर्थाटनको क्षेत्र वराहक्षेत्रमा पर्यटनका अन्य आयाम छायाँमा पर्दै गएकोमा स्थानीयको चिन्ता छ । स्थानीय सरकारले यहाँको पर्यटन प्रवर्धनमा काम गर्नुपर्ने उनीहरुको माग छ ।
गत कार्तिक २९ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मोटरबोटको औपचारिक उद्घाटन गर्नु भएको थियो। यो वर्षभरि नै पर्यटनका विविध गतिविधि गरी कोशी भ्रमण वर्ष मनाउने कोशी सरकारको उद्देश्य रहेको मन्त्री मण्डलले बताउनु भयो ।
उहाँले कोशी किनारलाई पर्यटनको हबका रुपमा विकास गर्ने प्रशस्तै आधारहरु भएको बताउनु भयो । स्थानीय व्यवसायीले पर्यटन प्रवर्धनका लागि गरेको कामको उहाँले सह्रानासमेत गर्नु भएको थियो ।


