२०८२ मंसिर ९, सोमवार , ०७:५६:२६ बजे

Sajhamanch
'

‘सामाजिक उत्तरदायित्वको रकम अटिजम् सेन्टर बनाउन खर्च गरौँ’ : नगरप्रमुख बुढाथोकी

सोमवार, मंसिर ९, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा छलफल गरिएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा भएका बैंक तथा वित्तीय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्व शीर्षकमा राखेको रकम अटिजम् सेन्टर स्थापनाका लागि खर्च गर्न अनुरोध गर्नुभएको हो ।

नगरभित्र रहेका सरकारी, गैरसरकारी र निजी बैंक, सहकारी, सामाजिक संघ–संस्थाहरुका प्रमुख, अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको सो अन्तरक्रियामा उनीहरुले पनि सामाजिक उत्तरदायित्व शीर्षकमा राखिएको रकम वार्षिक रुपमा अटिजम् सेन्टर स्थापनाका लागि सहयोग गर्न सकिने बताएका थिए ।

मेची नेत्रालयका डा. शरद चन्द्रप्रकाश राईले पनि अटिजम् बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा सहयोग गर्ने बताउनु भयो ।

मेचीनगरमा अटिजम् भएका ९५ बालबालिकासहित १ हजार ६२२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ ।

२०८२ असार मसान्तसम्ममा अपाङ्गता भएका १ हजार ६२२ जनामध्ये प्रकृति हेरेर ४७९ ले रातो परिचय पत्र, ६२५ ले निलो, ४४४ ले पहेँलो, ७४ जनाले सेतो परिचय पत्र लिएका छन् ।

अटिजम् भएका बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले मेचीनगरमा अटिजम् सेन्टर नभएकाले भारत तथा नेपालका विभिन्न ठाउँमा थेरापीसहितको उपचारका लागि महंगो खर्चमा बाहिर लानुपर्ने बाध्यता रहेकोले आफ्नै नगरमा सेन्टर राख्न माग गरेका थिए ।

अटिजम् सेन्टर स्थापना गर्न नगरको बजेटले मात्रै नपुग्ने भएकाले बैंक तथा वित्तीय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्वमार्फत अन्य सामाजिक सेवामा खर्च गरिरहेकाले यसमा नै खर्च गर्न नगरप्रमुख बुढाथोकीले आग्रह गर्नुभएको हो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले अटिजम् भएका बालबालिकाको सहजरुपमा थेरापी, उपचार र सुरक्षा होस् भन्ने हिसाबले अटिजम् सेन्टर स्थापनाका लागि सरोकारवालाहरुसँग छलफल गरिएको बताउनु भयो ।

अन्तरक्रियाको सहजीकरण नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर