
मेचीनगर । झापाको मेचीनगरमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना मध्ये पेट्रोलियम पाइपलाइनको निर्माणका लागि धमाधम प्रक्रिया अघि बढेको छ ।
भारतको सिलीगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको ग्रिन फिल्ड ट्रर्मिलन निर्माण गरिँदैछ ।
नेपाल आयल निगम लिमिटेडद्वारा प्रस्तावित सिलीगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजना अन्तरगतको झापातर्फ १४ दशमलव ६ किलोमिटर ग्रिन फिल्ड ट्रर्मिलन निर्माणको कामको प्रक्रियाहरु धमाधम भइरहेको हो ।
भारततर्फ सिलीगुडीदेखि मेची पूलसम्म ३६ किलोमिटर र नेपालतर्फ मेचीपूलदेखि चारआलीसम्म १४ किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तारका लागि भारत सरकारले सातसय करोड भारु अनुदान दिएको छ । पेट्रोलियम पाइपलाइन विस्तार हुँदा मेचीनगरको ६, ७, ८, १०, १३ र १४ नम्बर वडाको क्षेत्र पर्दछ ।
ग्रिन फिल्ड ट्रर्मिलनका लागि चारआलीमा २३ विघा तीन कठ्ठा १३ धुर जग्गा सुरक्षित राखिएको छ । सोही ठाउँमा पेट्रोलियम पदार्थको भण्डारण गर्ने योजना निगमको छ ।
त्यसैका लागि भण्डारण तथा पेट्रोलियम पाइपलाइन विस्तारलाई सहज बनाउन स्थानीय सरकार, सरोकारवाला, दलका प्रमुखहरुसँग वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अध्ययनका लागि सार्वजनिक सुनवाई कार्यक्रम पनि भइरहेको छ ।
निगमले आइतबार बिहान मेचीनगर नगरपालिकाको सभाहलमा स्थानीय सरकारसँग र दिउँसो चारआलीस्थित परियोजना परिसरमा जनप्रतिनिधि, सरोकारवाला र स्थानीयबासीसँग ईआइए सम्बन्धी छलफल गरेको हो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, ७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओली, मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष नविन कोइराला लगायतले पेट्रोलियम पाइपलाइनले आफ्नो क्षेत्रमा पार्ने असर र फाइदाका विषयमा निगमको ध्यानाकर्षण गराएका थिए ।
यता चारआलीमा आयोजित कार्यक्रममा १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल, १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बा, स्थानीय समाजसेवी सरद शिवाकोटी, बद्री महत, श्री मरासिनी लगायतले स्वास्थ्य, शिक्षा, सुरक्षा र अदालतमा विचारधिन रहेको विवादित दुई विघा जग्गाका विषयमा पनि कुरा उठाएका थिए ।
सार्वजनिक सुनवाई कार्यक्रममा निगमका तर्फबाट नायव कार्यकारी निर्देशक दीपक बराल, निर्देशक इन्जिनियर वीनितमणि उपाध्यय, परियोजनाका परामर्शदाता रेडनट इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिका वातावरणीय विज्ञ रामकुमार तामाङले स्थानीय सरकार, सरोकारवाला, जनप्रतिनिधि र स्थानीयबासीहरुको सुझाव र जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा परियोजनाका संयोजक सुरेन्द्र महतो, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती लगायतको सहभागिता रहेको थियो ।
दुवै ठाउँको सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण हवाई इनधन डिपो भद्रपुर कार्यालयका प्रमुख सन्दिप रिमालले गरेका थिए ।
सोमबार बिहान मेचीनगर नगरपालिकाको समन्वयमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग पेट्रोलियम पाइपलाइन विस्तार र ईआइए सम्बन्धी सर्वदलिय बठक बस्ने तय भएको नगरपालिका प्रशासनले जनाएको छ ।


