
झापा । भियतनाममा केही दिनदेखिको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता भएका छन् ।
बाढीका कारण देशभर १ लाख ८६ हजार घरमा क्षति पुगेको र ३० लाखभन्दा धेरै पशुचौपाया बगेका भियतनामी अधिकारीहलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । करोडौं पाउन्ड बराबरको क्षति भएको अनुमान छ ।
समाचार एजेन्सी एएफपीका अनुसार पहाडी प्रान्त डाक लाक नराम्ररी प्रभावित भएको छ । त्यहाँ नोभेम्बर १६ देखि यता ६० जनाभन्दा धेरैको ज्यान गएको छ ।
केही हप्ताको अन्तरालमा आएको कालमेगी र बुआलोई आँधीका कारण भियतनामले अहिले सबैभन्दा ठूलो चरम मौसमी घटनाको सामाना गरिरहेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सहयोग गर्न सैन्य र प्रहरी स्रोतहरू परिचालन भएका छन् ।
जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी घटनाहरूको बढी जोखिममा पर्दा आँधीका घटनाहरू बढेका वैज्ञानिकहरू बताउँछन् ।


