
काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा बोलाउनुभएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले चुनावका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस चुनावमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताउनुभयो । उहाँले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै चुनावका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गर्नुभयो ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले चुनावका लागि अनुकूल वातावरण बनाउन नसकेको बताउनुभयो । उहाँले आन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा चुनावका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा चुनाव केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै चुनावका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित चुनाव राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताउनुभएको छ । उहाँले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक चुनावी प्रक्रियामा सहभागिताका लागि आग्रह गर्नुभयो ।
चुनाव सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र नागरिकप्रतिको अटल राजनीतिक प्रतिबद्धता भएको बताउँदै उहाँले संवैधानिक अडानमा कुनै अलमल नभएको पनि बताउनुभयो ।
युवाको आक्रोशलाई सरकारले मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहेको बताउँदै प्रधानमन्त्री कार्कीले सडकको विद्रोहलाई नीति निर्माणको टेबलतर्फ डोर्याउन चाहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रूत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागेको बताउनुभयो ।


