
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम अन्तिम चरणमा पुगेको छ । यद्यपि निर्माण कम्पनीसँगको सम्झौता अवधि पुस मसान्तसम्म भने यसको निर्माण सम्पन्न हुने सम्भावना छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर संजीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत छ । ‘सिभिल वर्क सकिएको छ’ इन्जिनियर खड्काले भन्नुभयो, अब मेकानिकलतर्फका कामहरु बाँकी छन् । विमानस्थलसँग सम्बन्धित उपकरणहरु कतिपय आइसकेका र कतिपय आउने क्रममा रहेको इन्जिनियर खड्काले जानकारी दिनुभयो । उहाँले उपकरणहरुको स्टल गरिसक्दा आर्किटेक्टतर्फका कामहरु समेत सकिने बताउनुभयो ।
इन्जिनियर खड्काले सम्झौता अनुसार पुस मसान्तसम्मको म्यादमा काम नसकिए पनि आगामी नयाँ वर्ष २०८३ साल वैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास व्यक्त गर्नुभयो । टर्मिनल भवन निर्माण सम्झौता २०७९ मङ्सिरमा केसी-डाँफे जेभीसँग भएको थियो ।

यसको शिलान्यास भने २०७९ फागुन १ गते भएको थियो । भ्याटबाहेक २ अर्ब ४२ करोडमा १६ हजार २७७ वर्ग मिटरको भवन निर्माण हुनुपर्नेछ । हालसम्म ७१ प्रतिशत भुक्तानी ठेकेदार कम्पनीले बुझिसकेको छ ।
केसी डाँफे जेभी निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर रमेश पौडेलले दैनिक २ सयभन्दा बढी कामदार परिचालन गरेर निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । दशैं अगाडीको केही अनिश्चय अवस्थाका कारण केही दिन काम होल्ड हुँदा त्यसले असर पारेको पौडेलको भनाइ छ ।
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन देशभरका आन्तरिक विमानस्थलमध्ये ठूलो हुनेछ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको १५ हजार वर्ग मिटर र गौतमबुद्धको १४ हजार वर्गमिटरको टर्मिनल भवन छ ।
जबकी विराटनगर विमानस्थलको भने १६ हजार २७७ वर्गमिटरको टर्मिनल भवन निर्माण भइरहेको छ । वि।सं। २०२५ सालमा बनेको पुरानोभन्दा उत्तरतर्फ नयाँ टर्मिनल भवन बनेपछि विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।
पुरानो टर्मिनल भवनले ओगटेको क्षेत्रमा धानव मार्ग विस्तार गर्दा २७० मिटर बढ्ने अनुमान गरिएको छ । हाल विराटनगर विमानस्थलको धावन मार्ग एक हजार ५०० मिटरको छ ।
नयाँ टर्मिनल भवन ५५० यात्रु बस्ने क्षमता र १७ वटा चेक इन काउन्टर हुनेछ । त्यस बाहेक अति विशिष्ट कक्ष, बालबालिका खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार–अध्यागमन, क्यारेन्टाइनसहित केही व्यावसायिक कारोबार क्षेत्रसमेत रहनेछ । तीनवटा तला भएको भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहने योजनामा उल्लेख छ ।
कोशीका पर्यटन व्यवसायी भवेश श्रेष्ठले आधुनिक टर्मिनल भवन निर्माणसँगै विराटनगर विमानस्थलबाट पर्वतीय उडानको सुरुवात गराउन सके त्यसबाट लाभ लिन सकिने सम्भावना रहेको बताउनुभयो। उहाँले अन्तर प्रादेशिक उडान, अन्तरदेशीय उडानको समेत सभ्भावना रहेको बताउनुभयो ।


