
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।
पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताउनु भयो ।
उहाँका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ ।
आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ ।
यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङ्गे झरनासम्बन्धी तस्बिर तथा भिडियो पोष्ट हुन थालेपछि पर्यटक अझ आकर्षित भएका छन् ।
सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको फुङ्फुङ्गे झरनालाई जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न निरन्तर पहल भइरहेका छन् ।
सङ्घ प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवर्द्धनको योजनाअन्तर्गत विभिन्न संरचनासमेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको झरनामा भ्रमण गर्न आनुभएका सिरिजङ्घा गाउँपालिका कुमार माबोले जानकारी दिनुभयो ।
झरनाको सौन्दर्यीकरणका रूपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ । अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङ्गे झरनास्थलसम्म पर्यटकको यात्रा सहज भएको छ । सङ्घीय सरकारबाट झरनाको सौन्दर्यीकरण योजनामा रु. एक करोड बजेटसमेत खर्च भएको छ ।
झरनाबाट झरेको पानीको बाफमा नुवाउनेस्थल बनाएमा अझ राम्रो हुने आन्तरिक पर्यटक तथा सिरिजङ्घा गाउँपालिकाका स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग)को भनाइ छ ।
यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई स्थानीय उत्पादनका परिकारको स्वाद दिन सकेमा स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीले राम्रो आम्दानी लिनसक्ने बुढाक्षेत्रीले बताउनु भयो ।
विगतका समयमा भन्दा अहिले यस क्षेत्र धेरै विकास भएको झरनाको अवलोकन गर्न पुगेका फुङ्लिङ नगरपालिकाका सानुमाया लिम्बूले बताउनु भयो । हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ ।
झरना क्षेत्रमा नै बस्न चाहने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छभने क्रमशः अन्य होटल पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।
झरना प्रचारप्रसार गर्न आउँदो मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघुउद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताउनु भयो ।
उनका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई रु. तीन लाख दुई हजार ८२ र उपविजेतालाई रु .एक लाख ५२ हजार ८२ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउअनुसार घोषणा गरिएको रकमबराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कारस्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।
मेला सम्पन्न गर्न करिव १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले जानकारी दिनुभयो । स्थानीय क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, निर्माण व्यवसायी, स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट आर्थिक सहयोग सङ्कलन गरी मेला आयोजना गरिएको उहाँको भनाइ छ ।


