
झापा । बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ ।
जवाफमा भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, लोकतन्त्र, र स्थिरता चाहने बताएको छ । भारतले हसिनालाई बुझाउने वा नबुझाउनेबारे स्पष्ट जवाफ नदिई कूटनीतिक भाषा प्रयोग गरेको बीबीसीको खबरमा उल्लेख छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई गएको वर्षको जुलाई र अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हिजो मृत्युदण्डको सजाय सुनाएको छ ।
दुवैजना अहिले भारतमा निर्वासनमा बसिरहेका छन् । ३ सदस्यीय न्यायाधिकरणले ४५३ पानामा विस्तृत फैसलासहित हसिनालाई पाँचमध्ये दुई आरोपमा मृत्युदण्ड र अन्यमा आजीवन कारावास सुनाएको हो ।
पूर्व गृहमन्त्री कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक अब्दुल्ला अल मनुनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय तोकिएको छ । फैसला सार्वजनिक भइरहँदा ढाका अदालत परिसरमा ठूलो भीड जम्मा भई नारा जुलुस देखिएको बीबीसीले जनाएको छ ।
अभियोजनपक्षका अनुसार त्यतिबेला भएको विद्रोहमा १ हजार ४०० को ज्यान गएको थियो भने झन्डै २५ हजार घाइते भएका थिए । हसिनामाथि रंगपुरका विद्यार्थी अबु सैदको हत्या, ढाका चंखर पुलमा ६ जनाको हत्या र ५ अगस्ट सन् २०२४ मा अशुलियामा भएका सामूहिक गोलीकाण्ड तथा शव जलाउने घटनामा संलग्नताको आरोप लगाइएको थियो ।


