२०८२ मंसिर २, सोमवार , ०३:४०:३३ बजे

Sajhamanch
'

झुम्का कारागारबाट भागेका ५५७ कैदी अझै फरार

सोमवार, मंसिर २, २०८२

विराटनगर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ५५७ जना कैदी अझै फरार छन्।

विभिन्न अपराधमा दोषी ठहर भएका फरार कैदीबन्दीहरू कारागारको सम्पर्कमा नआएका कारण प्रदेशको समग्र सुरक्षा व्यवस्था नै अस्थिर बन्दै गएको छ।

विभिन्न अपराधमा संलग्न कैदीहरू एकैपटक ठूलो संख्यामा कारागारबाट भागेका थिए। कैदी भागेको घटनाले अपराध नियन्त्रण र प्रदेशको शान्ति–सुरक्षामाथि गम्भीर असर पारेको सुरक्षाविद्हरू बताउँछन्।

फरार कैदीहरूको सूचीअनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दाका १९८ जना कैदी फरार छन्। जबरजस्ती करणी मुद्दाका १६१ जना कैदी फरार रहेको झुम्का कारागारका जेलर सुवास लामिछानेले बताउनु भयो।

त्यस्तै, चोरी ३०, डकैती १३, कर्तव्यज्यान ७३, सामान्य झगडा ५, कुटपिट २, ठगी ४, अभद्र ५, अपहरण तथा मानव बेचबिखन २३, ज्यान मार्ने उद्योग १२, हातहतियार खरखजाना २ र अन्य १८ कैदी फरार रहेको कारागार प्रशासनले जनाएको छ।

फरार कैदीहरू जम्मा ५३९ जनाको विवरण सूचीमा परे पनि अतिरिक्त १८ जनासहित कुल ५५७ कैदीबन्दी अहिलेसम्म सम्पर्कमा नआएको जेलर लामिछानेले बताउनु भयो।

फरार कैदी, नियन्त्रण र आत्मसमर्पण गर्ने कैदीको विस्तृत तथ्यांक पनि कारागारले सार्वजनिक गरेको छ। घटनापछि कुल १७९६ कैदी फरार भएकोमा १ हजार १९७ जना आफैं कारागारमा समर्पण गर्न पुगेका छन्।

४२ जना अन्यत्र कारागारसँग सम्पर्कमा पुगेको जेल प्रशासनले जनाएको छ। पछिल्लो अवस्थाअनुसार ८६७ जना कैदी आफैं आएर समर्पण गरेका छन् भने ३३० जनालाई प्रहरीले पक्राउ गरेको छ। हाल झुम्का कारागारमा १ हजार २८८ कैदीबन्दी रहेको कारागार प्रमुख जेलर सुवास लामिछानेले जानकारी दिनुभयो।

जेलर लामिछानेका अनुसार एकैपटक यति ठूलो संख्यामा कैदी फरार हुनु कारागार प्रशासन र प्रदेश सुरक्षा संयन्त्र दुवैका लागि चुनौतीपूर्ण बनेको छ। फरार कैदीमध्ये धेरैजसो गम्भीर अपराधमा संलग्न भएकाले उनीहरूको खोजी निकै जटिल बनेको प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार फरारकै बीच धेरैजसो लागुऔषध कारोबारमा संलग्न भएकाले पछिल्ला दिनमा गाँजा तथा अन्य लागुऔषध तस्करी बढेको देखिएको छ। स्थानीय तहमा साना समूह सक्रिय बन्दै गएको र छिमेकी जिल्ला भारतसम्म यसको प्रभाव देखिन थालेको प्रहरीले जनाएको छ।

यसैबीच, अपराध वृद्धि र फरार कैदीहरूको सक्रियताले आगामी चुनाव सुरक्षामा समेत प्रभाव पार्ने आँकलन गरिएको छ। सुरक्षाविद्हरूको भनाइमा फरार समूह विभिन्न अवैध नेटवर्कसँग जोडिएर आर्थिक, राजनीतिक र सामाजिक दबाब सिर्जना गर्न सक्ने जोखिम उच्च छ।

अवैध पैसाको चलखेल, मतदातामाथि असर, धम्की तथा स्थानीय तहमा अस्थिरता बढ्न सक्ने भएकाले निर्वाचन सुरक्षालाई मजबुत बनाउन स्थानीयले बताउनु भयो।

सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबेले फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको जानकारी दिए। उनका अनुसार फरारमाथि कडा निगरानी राखिएको छ।

सीमा क्षेत्र, राजमार्ग, होटल, लज, बसपार्कदेखि ग्रामीण बस्तीसम्म प्रहरीको चेकजाँच कडा बनाइएको छ। एसपी थेबेले स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

फरार कैदीहरूबाट अपराध बढ्ने, सामाजिक तनाव सिर्जना हुने र सुरक्षामा चुनौती पैदा हुने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्। कैदी फरार भएको घटना कारागारभित्रको सुरक्षादेखि लिएर राज्यको समग्र सुरक्षा संरचनामै प्रश्न उठाउने विषय भएको बताउँदै स्थानीयले तत्काल सुधार, छानबिन र कडाइका साथ नियन्त्रणात्मक कदम चाल्न आग्रह गरेका छन्। झुम्का कारागारबाट ५५७ कैदी फरार हुनु केवल प्रशासनिक कमजोरी मात्र नभई प्रदेशभरि फैलिन सक्ने जोखिमको ठूलो खतरा भएको स्थानीयले बताए।

सम्बन्धित खबर