
झापा । युक्रेनमा ऊर्जा क्षेत्रसम्बन्धी एउटा ठूलो भ्रष्टाचार काण्डपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राज्य स्वामित्वमा रहेका ऊर्जा कम्पनीहरूलाई पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले झन्डै १० करोड अमेरिकी डलर हिनामिना भएको बताएका छन् । रुसी आक्रमणका कारण विद्युत् आपूर्ति बन्द भएको युक्रेनमा भ्रष्टाचार काण्ड बाहिरिएपछि आक्रोश बढेको बीबीसीले जनाएको छ ।
ऊर्जा कम्पनीहरूको वित्तीय गतिविधिहरूको पूर्ण लेखापरीक्षणका साथै कम्पनीहरूको व्यवस्थापन नवीकरण गरिने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत बताउनुभएको छ । यस घोटालाको केन्द्रमा रहेको राज्य आणविक कम्पनी ‘एनरगोएटम’ को एक हप्ताभित्र नयाँ पर्यवेक्षक बोर्ड गठन हुने उहाँले उल्लेख गर्नुभयो ।
यस काण्डमा संलग्न धेरैको युक्रेनी राष्ट्रपतिसँग घनिष्ठ सम्बन्ध रहेको बीबीसीको खबरमा उल्लेख छ । आणविक ऊर्जा प्लान्टहरूमा विद्युत् आपूर्ति गर्ने सबस्टेशनहरूसहित युक्रेनी ऊर्जा सुविधाहरूमा रुसी आक्रमणहरू बढ्दै गएको पृष्ठभूमिमा यो काण्ड बाहिर आएको छ ।


