२०८२ मंसिर १, आइतवार , ०२:४६:२३ बजे

Sajhamanch
'

मेक्सिकोमा जेन–जी आन्दोलन चर्कियो : हिंसा र भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन

आइतवार, मंसिर १, २०८२

झापा । मेक्सिकोमा जेन–जी समूहको आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारी हिंसा र भ्रष्टाचारकोविरुद्धमा सडकमा आएका हुन् ।

मेक्सिको सिटीमा हिजो भएको विरोधको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपका घटना समेत भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा, लाठीलगायतले पनि आक्रमण गरेका छन् । प्रदर्शनकारीले प्रहरीका सुरक्षा सामग्री र अन्य उपकरण पनि खोसेका छन् । आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकबाट समर्थन गरिएको खबरमा उल्लेख छ ।

झडपका क्रममा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । केही घाइतेको उपचार भइरहेको छ । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि शुरु भएको जेन–जी प्रदर्शन देशभर फैलिएको छ । नोभेम्बरको शुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा भएको हत्यापछि बढ्दो हिंसाको निन्दा गर्दै प्रदर्शन थालिएको हो ।