२०८२ कार्तिक २८, बिहिवार , ०१:०९:२५ बजे

Sajhamanch
'

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनु भएको छ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनु भएको हो ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।

खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उहाँ प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख हुनुहुनथ्यो ।

डीआईजी हुँदा भने उहाँले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालुनु भएको थियो। एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाउनु भएको छ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

विदेशमा विभिन्न तालिम लिइसक्नु भएको उहाँ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत हुन ुभएको थियो।