
झापा । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन्। मंगलबार भएको ती दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–७ का ४५ वर्षीय सुनिल सोरेन रहेका छन्। उनी चलाइरहेको ट्रयाक्टर (मे.१ त. ३३१६) शरणामती क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा मंगलबार दिउँसो ३ः३० बजे बिर्तासिटी अस्पताल, बिर्तामोडमा उनको मृत्यु भएको हो।
त्यस्तै, कमल–५ पाडाजुँगीमा दमकबाट झिलझिलेतर्फ आउँदै गरेको अनटेस्ट अटो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्।
प्रहरीका अनुसार मेचीनगर–४ माताचोक, गौरादह–८ जुरोपानीचोक, शिवसताक्षी, बिर्तामोड–५ सगरमाथा चोक, कनकाई–१ जुके कल्भर्ट, बुद्धशान्ति–२ प्रणामी मन्दिर, कमल–५ पाडाजुँगीचोक, कनकाई–१ जामुनखाडी, बिर्तामोड–५ मनमोहन अस्पतालअगाडि र दमक–६ गणतन्त्रचोकमा पनि साना–ठूला दुर्घटनाहरू भएका छन्।
प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


