
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ। बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिनुभएको हो।
विप्लवले २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताउनु भएको छ।
‘२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्यो। तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन,’ विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उहाँले समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउनुभएको छ। उहाँले मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु गरेपनि जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो सम्भव नबनेको समेत बताउनुभयो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ।’
२०८० साल असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसहितका दल मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो। सो मोर्चाबाट यसअघि नै उपेन्द्र यादव नेतृत्वको जसपा निस्किसकेको थियो।
हेर्नुहोस् विप्लवले जारी गरेको वक्तव्य



