२०८२ कार्तिक २७, बुधवार , ११:०९:४३ बजे

Sajhamanch
'

मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको भिड : दुई सिफ्टमा काम

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न गर्नेहरुको भिड बढेको छ । अत्यधिक चापपछि दर्ता स्थलमा दुई सिफ्टमा काम थालिएको छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता गर्नेहरु बढेपछि आवश्यक व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा धेरै नाम दर्ता भइरहेका जिल्लामा ६–६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो ।

काठमाण्डौ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाइ छ ।

आउँदो फागुन २१ को चुनावका लागि मतदाता नामावली दर्ताको समयसीमा सकिनै लाग्दा दर्ता गर्नेको संख्या बढेको हो । गएको असोज ९ देखि शुरू भएको मतदाता नामावली दर्ताको समयसीमा सकिन अब चार दिन मात्रै बाँकी छ ।

निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्यको चुनावमा मतदान गर्नका लागि आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन अपिल समेत गरेको छ ।

मतदाता नामावली संकलनमा चाप बढेको र अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको गुनासोपछि हिजो मात्रै प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगसँग आग्रह समेत गर्नुभएको छ । उ

हाँले यो कात्तिक मसान्तसम्मको समय पुनरावलोकन गर्न पनि निर्वाचन आयोगलाई अनुरोध गर्नुभएको छ । समय थपबारे निर्वाचन आयोगले अहिलेसम्म निर्णय गरिसकेको छैन ।

सम्बन्धित खबर