
काठमाडौं । यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो ।
सरदरभन्दा केही दिनअघि अगाडि नै अर्थात् यस वर्ष गएको जेठ १५ मा पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रहेर गएको असोज २४ गते बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार ३७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार ४१५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो ।
औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको छ । मनसुनको अन्त्यतिर अर्थात् गएको असोज १७ देखि २० गतेसम्म बाढीरपहिरो र डुबानमा ५३ जनाको ज्यान गएको थियो ।
मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भयो । इलाममा मात्रै यस वर्षको मनसुनमा ३९ जनाले ज्यान गुमाए । सरकारले क्षतिग्रस्त इलाम र असाररसाउनमा खडेरी परेको मधेश प्रदेशका केही क्षेत्रलाई विपद् तथा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
प्रभावकारी पूर्वतयारी र प्रतिकार्य योजनाका कारण यस वर्ष मनसुन अवधिमा जनधनको क्षति कम भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ ।
प्राधिकरणका अनुसार, गएको वर्ष समग्रमा दुई हजार १३९ विपद्का घटना हुँदा ४९५ जनाको ज्यान गएको थियो । यस वर्ष एक हजार ४५४ घटनामा १४० जनाको ज्यान गएको छ ।


