
झापा । झापाको कनकाईमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । क
नकाई नगरपालिका-३ नयाँ बस्तीस्थित भित्री सडक खण्डमा गएराति ९ः१० बजेको समयमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र १–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१५प ४२१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई-३ का ३३ वर्षीय दीपक सिटौला गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भइसकेको भनी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले ४२१० नम्बरको मोटरसाइकल चालक कनकाई-६ का २३ वर्षीय नितेश बस्नेत र सोही मोटरसाइकलमा पछाडि सवार बाह्रदशी-७ सुन्दर टोलका २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको छ ।


