
झापा । फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ ।
गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै १८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान हावासहित प्रवेश गरेको हो । यसअघि झन्डै १० लाख मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ ।
तुफानका कारण हिजो मात्रै थप दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । तुफानको प्रभावले अरोरा, बिकल र पोलिल्लो टापुहरूमा भीषण वर्षा र हावाहुरी ल्याएको छ ।
झन्डै ३०० उडान र धेरै विमानस्थलहरू बन्द गरिएका छन् । लुजोनमा केही क्षेत्रमा दुई सय मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । जसले ठूलो पहिरो र बाढीको जोखिम बढाएको छ ।
त्यहाँको सरकारले यसअघि आएको टाइफुन काल्मेगी तुफानले दुई सय जनाभन्दा धेरैको ज्यान लिएपछि देशव्यापी आपतकाल घोषणा गरेको थियो । अहिले फुङ–वोङ्ग कमजोर हुँदै लुजोन पार गर्दै उत्तर ताइवानतर्फ गईरहेको खबरमा उल्लेख छ ।


