२०८२ कार्तिक २४, आइतवार , १०:५७:०३ बजे

Sajhamanch
'

नेपालमा गरेको अध्ययनको निष्कर्ष : जलवायु परिवर्तन बाध्य श्रम र बाल श्रमको मुख्य कारण बन्दैछ

आइतवार, कार्तिक २४, २०८२

काठमाडौं । जलवायु परिवर्तनले बाध्य र बाल श्रम पनि बढाएको नेपालमा गरेको एक अध्ययनले देखाएको छ ।

न्यू एरा नेपालले बारा, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली र मकवानपुर गरी आठ वटा जिल्लामा गरेको अध्ययनले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभई बाध्य श्रम र बाल श्रमको पनि मुख्य कारण बन्दै गएको देखाएको हो ।

अध्ययन गरिएका जिल्लाहरु इँटा र गलैँचा उद्योगमा काम गर्ने बाल श्रमिक र वयस्क श्रमिकहरूको मूल समुदायका रूपमा चिनिन्छ । अध्ययनमा ३५ प्रतिशत वयस्क श्रमिक र बाल श्रमिकका अभिभावकले जलवायुजन्य घटनाका कारण आफ्ना छोराछोरीलाई उच्च जोखिमयुक्त क्षेत्रहरूमा काम गर्न पठाउन बाध्य भएको बताएका छन् ।

यस्तै १७ प्रतिशतले जलवायु घटनाको अत्यधिक प्रभाव परेको बताएका छन् । खडेरी, बाढी, र अनियमित मौसमका कारण खाद्यान्न उत्पादन घटेको छ, जसले उनीहरूलाई ऋण, पलायन, र शोषणात्मक श्रममा धकेलिरहेको उनीहरुको भनाइ छ ।

बाध्य श्रम र वालश्रममा पुग्नुमा ऋण, खाद्य असुरक्षा, र जग्गा स्वामित्वको कमी कमजोर हुने प्रमुख कारणका रूपमा देखिएका अध्ययन टोलीका जलवायुविज्ञ उज्जवल उपाध्यायले बताउनुभयो ।

प्रतिवेदनले जलवायु–संवेदनशील बालबालिका र श्रमिकहरूको सुरक्षाका लागि शिक्षा, सचेतना र सुरक्षा प्रणाली सुदृढ पार्ने, कृषि सहनशीलता, जग्गा पहुँच बढाउन सुझाव दिएको छ ।

यस्तै वैकल्पिक जीविकोपार्जनका अवसरहरू विस्तार गर्न, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणमा जोड दिन तथा श्रम र सामाजिक सुरक्षा नीतिहरूलाई सुदृढ बनाई सबै श्रमिकहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्न पनि प्रतिबेदनको सिफारिस छ ।

अध्येता उपाध्यायले जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (कोप–३०) मा कार्बन उत्सर्जन घटाउने कुरा मात्र नभई पहिले नै सबैभन्दा ठूलो मूल्य तिईरहेका मानिसहरूको भविष्य सुरक्षित गर्ने कुरालाई पनि जोड दिनुपर्ने बताउनुभएको छ ।

सम्बन्धित खबर