
काठमाडौं । सरकारले गाडी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेशिनबाट छाप्न शुरू गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न शुरू गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रको मेशिनबाट लाइसेन्स छपाइ शुभारम्भ गर्नुभयो । उहाँले कानूनी उल्झन र कठिनाइका बाबजुद पनि आवश्यक व्यवस्था मिलाएर लाइसेन्स छपाइ शुरू गरिएको बताउनुभयो ।
सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेशिन यत्तिकै थन्किएका थिए । मेशिन र पार्टपुर्जा सबै धूलाम्मे थिए । केन्द्रका मेशिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिन्छ ।
मन्त्री खरेलले यसअघि लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको बताउनुभयो । पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ शुरू गरिएको उहाँको भनाइ छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले पनि विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ शुरू गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भए अनुरूप आजदेखि काम शुरू भएको हो । शुरूमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ ।
नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ पनि अब गर्न सकिने अवस्था छ । सुरक्षण मुद्रण केन्द्रमा अहिलेसम्म झन्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ ।


