
काठमाडौं । चितवनमा यस वर्ष धानको उत्पादन बढेको छ । गएको वर्षभन्दा यस वर्ष २१ हजार ४८० मेट्रिक टन धेरै धान उत्पादन भएको तथ्याङ्क छ ।
कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष चितवनमा धानको उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको छ ।
यस वर्ष १ लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ । गएको वर्ष चितवनमा १ लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो ।
चितवनमा हर्दिनाथ ६, गोरखनाथ, सावित्री, रामधान, गङ्गोत्रीलगायत धानका जात लगाउने गरिन्छ । यस वर्ष समयमा पानी परेको र रोग कीराको प्रकोप कम हुँदा धान उत्पादन बढेको अधिकृत पौडेलले बताउनुभयो ।
तर पछिल्लो वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुर्याएको छ । यसले १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको छ ।
चितवनमा यस वर्ष धानको उत्पादन बढेको भए पनि समग्र देशभरको अवस्था अनुसार यस वर्ष उत्पादन घट्ने आँकलन छ । अन्नभण्डारका रूपमा रहेको मधेश प्रदेशका किसानलाई असारमा खडेरीले सतायो । त्यस्तै भित्र्याउने बेला असोज अनि कात्तिकमा मधेशसहित सबैजसो प्रदेशका किसानले क्षति भोग्नुपरेको छ ।
पोहोर अहिलेसम्मकै धेरै ५९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष खडेरीले बेलैमा रोपाइँ नहुनु, कतै खेत बाँझै रहनु र अहिले भित्र्याउने बेलाको क्षतिलगायतले धानको उत्पादन घट्ने अनुमान गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता डा. जानुका पण्डितले बताउनुभएको छ । उहाँका अनुसार पछिल्लो क्षतिको प्रारम्भिक तथ्याङ्क सङ्कलन भइरहेको छ ।


