
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २/२ विकेट लिए ।
यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । शृङ्खलामा घरेलु टोली यूएई, नेपाल र अमेरिका सहभागी छन् । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो । यस्तै नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो ।
नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।


