२०८२ कार्तिक २०, बुधवार , ०१:२०:४० बजे

Sajhamanch
'

एकीकृत समाजवादीसँगको यात्रा टुङ्गियो : रामकुमारी झाँक्री

बुधवार, कार्तिक २०, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफू र आफ्नो समूहको नेकपा (एकीकृत समाजवादी) सँगको यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्रसँगको पार्टी एकताको निर्णयसँगै एकीकृत समाजवादी अब अस्तित्वमै नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरू जानी नजानी एकीकृत समाजवादीमा लागेको भन्दै माधव नेपालले त्यसकालाई माओवादीमा मिसाएर डम्पिङ साइड बनाउन लागेको बताउनुभयो । ‘प्रारम्भका दिनहरूमा भयानक अभियान चल्ने विश्वासले हामी लागेका थियौँ, त्यो अभियान एक हिसाबले समाप्त भएको छ, हाम्रो अध्याय टुङ्गिएको छ, पार्टी विघटन भएको छ ।’

आफूहरूले नेकपा एमाले छाडेपछि गठन भएको एकीकृत समाजवादी पार्टीमा कहिल्यै पनि लोकतन्त्रको अभ्यास नभएको उहाँले बताउनुभयो । झाँक्रीले अहिले आफूहरूको राजनीतिक बाटो ‘पज’ अर्थात् अवरुद्ध अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले नेकपा ९एकीकृत समाजवादी० सँगको अध्याय टुंगिएकोमा आत्मसन्तुष्टि र सहजता महसुस भएको पनि बताउनुभयो । अब नयाँ बिचार र सोचका साथ अघि बढ्ने उहाँले बताउनुभयो ।

नयाँ भनिएका पार्टी र शक्तिलाई पनि जनताले नस्विकारेका बताउँदै आफूहरू जग भएको विचारधारा बोकेको दलमा जोडिने झाँक्रीले बताउनुभयो । उहाँले अब एमालेमा फर्कने संकेत गर्नुभयो ।

विभाजनले शक्ति आजर्न होइन ध्वस्त पार्छ भन्ने कुरा आफूहरूले सिकेर आएको उहाँले बताउनुभयो । गन्तव्यलाई दृष्टिगोचर गरेर आफूहरूको यात्रा अघि बढाउने झाँक्रीले बताउनुभयो । ‘विभाजनले किमार्थ शक्ति दिएन, नमिल्नेहरुको एकताले पनि काहीँ शक्ति दिएन, विचार सिद्धान्त, दृष्टिकोण मिल्ने बिचकै एकता गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले एकीकृत समाजवादी पार्टीका सबै नेता कार्यकर्तालाई विचार र सिद्धान्त मिल्ने बिच एकता र समायोजन गरेर अघि बढ्ने जानकारी दिनुभयो । एमालेसँग भएको विभाजनलाई लिएर आफूलाई पार्टी विभाजनको मुख्य पात्र बनाइएको भए पनि त्यो एउटा बिम्ब मात्र भएको उहाँले बताउनुभयो । ‘विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ, इतिहासले मूल्याङ्कन गर्नेछ’, उहाँले भन्नुभयो ।

उहाँले भदौ २३ र २४ को घटनालाई देशमा लागेको डढेलोको संज्ञा दिनुभयो । यसमा पीडा र पश्चात्ताप बाहेक कुनै पूर्वाग्रह नभएको बताउनुभयो । तर अपराधकर्ममा सहभागीलाई कारबाही नभए देश गृहयुद्धमा फस्ने झाँक्रीले चेतावनी दिनुभयो ।

सम्बन्धित खबर