
काठमाडौं । गएको भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा अहिलेसम्म ६ करोड २४ लाख रुपैयाँ सङ्कलन भएको छ ।
जेन–जी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो ।
त्यस्ता संरचनाको पुनर्निर्माणका लागि सरकारले गएको असोज २८ गते कोषमा आर्थिक सहयोग जुटाउन सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई औपचारिक रूपमा आह्वान गरेको थियो ।
सरकारले सहयोगकर्तालाई प्रोत्साहन गर्न चालू आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ ।
कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैङ्क’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ ।


