
झापा । धान काटेर भित्र्याउने बेलामा लगातार पानी परेपछि धेरै ठाउँमा काटिएको धान खेतमै भिजेको छ भने कतिपय किसानको नकाटिएको धान पनि लडेर पानीमा भिजेको छ ।
यस्तो अवस्थामा सबैभन्दा पहिले खेतको अवस्थाको मूल्याङ्कन गर्नु आवश्यक हुन्छ । खेतमा पानी जमेको छ भने सबैभन्दा पहिले पानीको निकास गरेर खेत सुक्खा बनाउनुपर्छ ।
यदि खेतमा पाकेको धान छ भने त्यसलाई जतिसक्दो छिटो काटेर खेतबाट बाहिर निकालेर सुकाउने तयारी गर्नुपर्छ । काटेको धानलाई परालसहित सुकाउँदा सुकाउने प्रक्रिया सजिलो हुन्छ ।
त्यसपछि दाना राम्ररी सुकाएपछि थ्रेसर प्रयोग गरेर धान र पराल छुट्याउन सकिन्छ । धेरै भिजेको धान सिधै थ्रेस गर्न गाह्रो हुन्छ, त्यसैले शुरुमा पानी नपर्ने ठाउँमा सुकाएर मात्र थ्रेसिङ गर्नु उपयुक्त हुन्छ ।
नकाटिएको र लडेको धानका हकमा पहिले मुठा बाँधेर उठाउनु पर्छ । लडेको धान उठाउँदा बालामा हावा पुग्छ र बिग्रने सम्भावना कम हुन्छ । लामो समय पानी पर्दा धानका दाना भिजेर फुल्लिने वा अङ्कुराउने समस्या हुन्छ ।
कतिपय खेतमा लडेको मात्र होइन, नढलेको धान पनि लगातार पानीका कारण उम्रिन थालेको देखिएको छ । यदि मौसम सफा भई घाम लाग्यो र बाला सुक्न पायो भने यस्तो समस्या धेरै घट्न सक्छ ।
खेतमा काटिएको धान भिजेपछि तुरुन्तै पानी नपर्ने ठाउँमा सारेर सुकाउने र सकेसम्म छिटो चुट्ने ९थ्रेसिङ गर्ने० गर्नुपर्छ । यदि धेरै मात्रामा खेती गरिएको छ भने मेसिनको सहयोगमा धान र पराल छुट्याउने काम गर्न सकिन्छ ।
तर धेरै किसानसँग विद्युतीय ड्रायर वा आधुनिक उपकरणको पहुँच नभएकाले व्यावहारिक रूपमा खुला कोठामा वा गोठमा भुइँमा केही ओछ्याएर त्यसमाथि धान राखी सुकाउने उपाय गर्न सकिन्छ । त्यस क्रममा पङ्खा चलाउने, झ्याल–ढोका खुला राख्ने र धान फिँजाउने गरेमा सुकाउने प्रक्रिया छिटो हुन्छ ।
यदि केही दाना पहिले नै उम्रिसकेका छन् भने तिनलाई छुट्याएर अलग राख्नुपर्छ ताकि बाँकी राम्रो दानामा असर नपरोस् ।
धानको जात अनुसार पनि काट्ने समय फरक हुन्छ । सामान्यतया ८५ प्रतिशत बाला पहेँलो भएर पाकेपछि एक हप्तासम्म काट्न मिल्छ । यस्तो बेला मौसम स्थिर देखिएमा घाम लागेको समयमा काट्नु उपयुक्त हुन्छ ।
यदि लगातार वर्षा भइरहेको छ भने, जहाँ सम्भव छ त्यहाँ मेसिन प्रयोग गरेर चाँडो काट्ने उपाय अपनाउन सकिन्छ । मेसिन उपलब्ध नभएमा मजदुरको सहयोगमा हातैले काट्नुपर्छ ।
यसरी खेतमा भिजेको वा लडेको धान जोगाउनका लागि पहिलो प्राथमिकता पानीको निकास, त्यसपछि छिटो काट्ने, सुरक्षित ठाउँमा सुकाउने र तुरुन्त थ्रेसिङ गर्ने गर्नुपर्छ । मौसम प्रतिकूल हुँदा पनि सावधानी र साना प्राविधिक उपायले किसानको ठूलो क्षति घटाउन सकिन्छ ।


						
						
						