
काठमाडौं । मोरङ र सप्तरीसहित पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा १९१ मिलिमिटर र सप्तरीमा १३० मिलिमिटर पानी परेको छ । झापा र उदयपुरमा पनि ठूलो पानी परेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । आज कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई ठाउँमा भारी हिमपातको सम्भावना छ । आज हिजोको तुलनामा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
पश्चिमी वायुका साथमा अरब सागरमा विकसित प्रणालीको असरमा बङ्गालको खाडीका विकसित चक्रवात मोन्थाको प्रभाव समेत मिसिएकाले लगातार वर्षा भइरहेको मौसमविदले बताएका छन् ।


 
						 
						 
						