
क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ ।अहिलेसम्म जमैका, हैटी र डोमिनिकन गणतन्त्रमा गरी ३० जना भन्दा धेरैको ज्यान गएको पुष्टि भएको खबरमा उल्लेख छ । हैटीमा, पेटिट–ग्वाभे नामक तटीय शहरमा नदीको पानी बगेर बस्ती बगाउँदा कम्तीमा २४ जनाको ज्यान गएको खबरमा भनिएको छ ।
उपग्रह तस्वीरहरूमा जमैकाको धेरै भागमा क्षति पुगेको र माछा मार्ने बस्तीहरू पानीले डुबाएको देखिएका छन् । खेतबारीहरू नष्ट भएका छन् । एक सय पाँच माइल प्रति घण्टाको गतिमा आँधी आएको थियो । अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आजदेखि यो कमजोर हुने अनुमान गरिएको छ । एजेन्सी


 
						 
						 
						