२०८२ कार्तिक १४, बिहिवार , ०१:०४:२१ बजे

Sajhamanch
'

अदालतको नक्कली विज्ञापन देखाएर ठगी, २७ जना पुगे प्रहरी कार्यालय

बिहिवार, कार्तिक १४, २०८२

विराटनगर । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले जिल्ला अदालत मोरङको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको छ । २७ जनाले पीडितले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् ।

पुनमदेवी साहको नाममा ठगी भएको पाइएको मोरङ प्रहरीले जनाएको छ । ठगिएकाहरुको जाहेरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिनुभयो । उहाँका अनुसार यो गिरोहले सप्तरी जिल्लामा पनि ठगी गरेको देखिएको छ ।

नक्कली विज्ञापन, नक्कली आइडी कार्ड

मोबाइलमा अदालतमा करार कर्मचारीको विज्ञापन खुलेको भन्दै विज्ञापन देखाउँदै साहको समूहले २ हजार ५०० देखि २० हजारसम्म संकलन गरेको पाइएको छ । जागिर लगाइदिने भन्दै केही व्यक्तिसँग २ लाखसम्स असुल गरेको पीडितको दाबी छ । तर सबै उजुरीका लागि पुगेका छैनन् ।

ठगी गर्ने गिरोहले पीडितलाई बाहिर बोले ज्यान मार्ने धम्की पनि दिइरहेको पीडितको गुनासो छ । ‘२७–२८ जनाले निवेदन दिएका छन्, बाँकी आउन सकेका छैनन्,’ पीडित मध्येका एकले भने, ‘ठगिएकाहरुको संख्या धेरै छ, तर उनीहरूले धम्की दिइरहेका छन् ।’

ठगी गर्ने गिरोहले २०८२ साउन १२ गतेको मितिमा नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाको विज्ञापन खुलेको भन्दै ठगी गरेको थियो । यो गिरोहले कर्मचारीको नक्कली परिचय पत्र पनि बनाउने गरेको पाइएको छ । प्रहरीका अनुसार विज्ञापन अनुसार आफूले जागिर लगाएको कर्मचारी भन्दै उनीहरुले नक्कली परिचय पत्र देखाएर आकांक्षीसँग पैसा असुल गरेको पाइएको छ ।

गिरोहले जागिर लगाएको भन्दै देखाएको परिचयपत्रमा प्रशासन अधिकृत भनेर केदारनाथ पौडेलको नाम र हस्ताक्षर उल्लेख छ ।

पीडितहरु सुरुमा जिल्ला अदालत पुगेका थिए । अदालत पुगेकाहरुलाई उजुरीका लागि जिल्ला प्रहरी कार्यालय जान सल्लाह दिइएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतको दरबन्दी लोकसेवाबाट पदपूर्ति हुन्छ । ठगी गर्ने गिरोहले विज्ञापन देखाएर ठगी गरेको देखिएको उहाँले बता्उनु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता चुडालले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर