२०८२ कार्तिक १४, बिहिवार , १०:००:५६ बजे

Sajhamanch
'

आज दिउँसो भन्दा राति ठूलो वर्षा र हिमपातको सम्भावना

बिहिवार, कार्तिक १४, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा भैरहेको छ । आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा भारी हिमपातको सम्भावना रहेको छ । पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार अहिले देशमा बंगालको खाडीमा विकसित मोन्था चक्रवातसँगै पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

सम्बन्धित खबर