
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी, एक्सेल विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले उकालो लागेको दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै साढे ६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतवार २ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।


