
काठमाडौं । मौसम प्रतिकूल हुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही ढिला भएका छन् ।
अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’ मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको छ ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार प्रतिकूल मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्रै भइरहेको छ । केही उडान ढिला भए पनि रद्द नै गर्नुपर्ने अवस्था आइनसकेको उहाँले बताउनुभयो ।
निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित मध्य तथा पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।


