
काठमाडौं । देशका विभिन्न ठाउँमा गएरातिदेखि नै वर्षा र हिमपात भएको छ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा र बिहानदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात शुरू भएको हो । आउँदो शुक्रवारसम्म नै वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आजभन्दा भोलि वर्षा कम हुनेछ । पर्सि बिहीवार फेरि केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ, भने तराई भू–भागमा आंशिक बदली रहने सम्भावना रहको महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि वर्षा र हिमपात कम हुने सम्भावना छ ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पर्सि बिहीवार कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा तथा गण्डकी प्रदेशका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।
पर्सि कोशी र बागमती प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई ठाउँमा ठूलो हिमपात तथा मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


