
झापा । भारत र चीनबीचको सम्बन्धमा सुधार आइरहेको देखिएसँगै दुई देशबीच सीधा उडान पुनः शुरू भएको छ । भारतको कोलकाताबाट झन्डै १८० जना यात्रु बोकेर इन्डिगोको विमान आज दक्षिणी चिनियाँ शहर ग्वाङ्झाउ पुगेको बीबीसी हिन्दीले जनाएको छ ।
यससँगै भारत र चीनबीच झन्डै ५ वर्षपछि सीधा उडान पुनः शुरू भएको छ । कोभिड–१९ महामारीको समयमा सन् २०२० को शुरुआतमा दुई देशबीचको सीधा उडान निलम्बित गरिएको थियो । त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडान पुनः शुरू हुन सकेनन् ।
यद्यपि दुई देशबीचको सम्बन्ध अब बिस्तारै सुधार हुँदै गइरहेको खबरमा उल्लेख छ । गएको वर्ष दुई देशले सीमा गस्तीमा एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर पनि गरेका थिए ।
यस वर्ष अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ वर्षपछि चीनको भ्रमण गर्नुभएको थियो । त्यही महिनामा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमणमा जानुभएको थियो ।
भारत सरकारले उडान पुनः शुरू हुँदा नागरिक–नागरिकबीचको सम्पर्क बढ्ने र ‘द्विपक्षीय सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण’ गर्न मद्दत पुग्ने बताएको छ ।


