२०८२ कार्तिक ११, सोमवार , ०२:००:४१ बजे

Sajhamanch
'

सरकार र दलबीच सहकार्य आवश्यक छ : सभामुख घिमिरे

सोमवार, कार्तिक ११, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भन्नु भएको छ, ‘युवा पुस्ताको आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र नेपाली जनताबीचको साझा सहकार्य आवश्यक छ, युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजलाई सम्बोधन गर्न हामी सबैको साझा प्रतिबद्धता अपरिहार्य छ ।’

उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै यो पर्वले समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने अपेक्षा गर्नु भएको छ।

उहाँले भन्नु भएको छ, ‘सूर्यदेवको आराधना र छठी माताको कृपाले हामी सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

वैदिक सनातन परम्परामा आधारित यो पर्व सूर्यदेव र छठी माताको आराधनाका रूपमा मनाइन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने यो विशिष्ट पर्वले समानता, पवित्रता र सामूहिक सहअस्तित्वको सन्देश बोकेको सभामुख घिमिरेको भनाइ छ ।

उहाँले छठ पर्वले हामीलाई प्रकृति र मानवबीचको गहिरो सम्बन्ध, सूर्यको अनन्त ऊर्जा र मेहनतको मूल्य स्मरण गराउने गरेको बताउनु भएको छ।

सम्बन्धित खबर