
झापा । एशियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ११औं सदस्य बनेको छ ।
योसँगै पोर्चुगिज शासनको अधीनमा रहँदा पूर्वी टिमोरका वर्तमान राष्ट्रपति जोसे रामोस–होर्टाले झन्डै आधा शताब्दीअघि राखेको दृष्टिकोण पूरा भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
टिमोर–लेस्टेका रूपमा पनि चिनिने १४ लाख जनसङ्ख्या भएको यो देश एशियाको सबैभन्दा गरिब देशहरूमध्ये एक हो । पूर्वी टिमोर १४ वर्षको पर्खाइपछि आसियानको सदस्य बनेको हो ।
आइतवार मलेशियाको क्वालालम्पुरमा भएको वार्षिक शिखर सम्मेलनको उद्घाटनमा आसियान नेताहरूले पूर्वी टिमोर दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्घमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
यसैबीच पूर्वी टिमोरका प्रधानमन्त्री जानना गुस्माओले भावुक हुँदै यो आफ्नो देशका लागि ऐतिहासिक क्षण भएको बताउनुभयो । प्रधानमन्त्री गुस्माओले नयाँ शुरुआतले व्यापार र लगानीका लागि अपार अवसरहरू ल्याउने उल्लेख गर्नुभएको छ ।
पूर्वी टिमोरमा तीन शताब्दीसम्म पोर्चुगलले शासन गरेको थियो । सन् १९९६ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित वर्तमान राष्ट्रपति रामोस–होर्टाले क्षेत्रीय एकीकरणमार्फत आफ्नो देशको भविष्य सुरक्षित गर्न १९७० को दशकमा पूर्वी टिमोरलाई आसियानमा सामेल गर्ने विचार उठाउनुभएको थियो ।


