
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा थाइल्याण्ड र क्याम्बोडियाबीच आज मलेसियामा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमको उपस्थितिमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाइल्याण्डका प्रधानमन्त्री अनुतीन चर्नभिराकुलले अमेरिकी राष्ट्रपति ट्रम्पसँगै सम्झौतामा हस्ताक्षर गर्नुभएको अमेरिकी समाचारसंस्था सीएनएनले जनाएको छ ।
तीन महिनाअघि गएको जुलाईमा दुबै देशबीच सीमावर्ती विवादका कारण पाँच दिनसम्म चलेको द्वन्द्वमा २४ जना भन्दा धेरै सर्वसाधारणको ज्यान गएको थियो । राष्ट्रपति ट्रम्पले यो द्वन्द्व अन्त्य गराउन आफ्नो भूमिका निर्णायक रहेको दाबी गर्नुभएको छ ।
उहाँले संयुक्त राष्ट्रसंघले यस्तो काम गर्नुपर्ने भएपनि अहिले अमेरिकाले नेतृत्व गरेको बताउनुभयो । थाइल्याण्ड र क्याम्बोडियाबीचको ८ सय १७ किलोमिटर लामो विवादित सीमा क्षेत्र दशकौँदेखि तनावपूर्ण रहँदै आएको छ ।
गएको जुलाईमा थाइल्याण्डले क्याम्बोडियामा हवाई आक्रमण गरेको थियो भने र क्याम्बोडियाले रकेट प्रहार गरी जवाफ दिएको थियो । ऐतिहासिक सम्झौतामा हस्ताक्षरपछि मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुबै पक्षलाई धन्यवाद दिँदै एशियामा स्थायित्व र सहअस्तित्वका लागि यो सम्झौता ऐतिहासिक मोड रहेको बताउनुभएको खबरमा उल्लेख छ । क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेतले अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने बताउनुभएको छ ।


