२०८२ कार्तिक १०, आइतवार , १०:४१:०१ बजे

Sajhamanch
'

आगलागीका घटना बढ्न थाले, सावधानी अपनाउन आग्रह

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । पछिल्लो केही दिनयता आगलागीका घटना बढेका छन् । अस्ति शुक्रवार र हिजो शनिवारको २४ घण्टाको तथ्याङ्क अनुसार देशभर १४ वटा आगलागीका घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुर पूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा आगलागीका घटना भएका हुन् । प्राधिकरणका अनुसार भाईटीकाको दिन बिहीवार पनि १३ वटा आगलागीका घटना भएका थिए ।

झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा आगलागी भएको थियो । यस्तै पाल्पामा एकैदिन तीन वटा आगलागीका घटना भएका थिए । गएको बुधवार पनि १७ वटा आगलागीका घटना भएका प्राधिकरणको तथ्याङ्क छ ।

मनसुन सकिएरको, पानी पर्न छोडेको र यहि बेला मुख्य चाडपर्व परेका कारण देशभर आगलागीका घटना बढेको पाइन्छ । पूर्वसावधानी तथा चेतना अभावमा आगलागीका घटना बढेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले आगलागीजन्य घटना हुनबाट जोगिनका लागि आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

सम्बन्धित खबर