
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा यही असोज २९ गतेदेखि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको विशेष प्रस्ताव सुझाव सहित सर्वसम्मतिले पारित भएको छ। बैठकले पार्टीको ११औं महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालय सम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझावसहितको मन्तव्य राखेका थिए।
तीन दिनको बैठकमा केन्द्रीय कमिटीका २३३ जना, प्रदेश कमिटीका अध्यक्ष ८ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना, केन्द्रीय निकायका ३ जना र पदाधिकारी १७ जनाले सदस्यले सुझावसहितको मन्तव्य राखेका थिए ।
बैठकमा चारवटै आयोगका अध्यक्षहरू क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव बडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राखेका थिए ।
पार्टी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा जोड दिँदै आजको सङ्कटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनर्स्थापना आजको हाम्रो मुख्य माग हुनुपर्ने धारणा राख्नभएको थियो।
बैठक पछि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जारी गरेको विज्ञप्तिमा ‘आगामी दिनमा समग्र नेतृत्वको पुनगठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयका सन्दर्भमा पार्टीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं राष्ट्रिय महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्नेगरी हामी अगाडि बढ्ने भनेर पार्टी एकमतका साथ अगाडि बढेको’ उल्लेख छ ।
यस्तै, वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार गर्नेतर्फ नभई मुलुकलाई बहुआयामिक संकटतिर धकेल्न सक्रिय देखिएको पनि गौतमले उल्लेख गरेका छन् । बैठकले भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषीहरुलाई कारबाही गर्नुपर्ने माग पनि राखेको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सामाजिक सञ्जालको निर्वाद सञ्चालन भ्रष्टाचारको विरोध र सुशासन लगायतका विभिन्न माग राखेर जेनजी युवाहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेकपा एमाले स्तब्द भएको छ। भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्छ र दोषीहरुलाई कारबाही गरिनुपर्छ भन्ने माग यो बैठकले गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।