
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा यो पटक खुलेर आफ्ना कुरा राखिरहेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न यो बैठकमा पनि दबाब बढेको छ । अध्यक्ष केपी ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न पनि केही नेताले सुझाएका छन् ।
जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । अध्यक्ष ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले अब नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए ।
केन्द्रीय कमिटी बैठकमा पनि त्यसले निरन्तरता पाएको छ । अध्यक्ष ओलीको प्रस्ताव माथि धारणा राख्दै आजको बैठकमा रचना खड्का, युवराज बाँस्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले विद्या भण्डारीको सदस्यता खोल्न र ओलीले मार्ग प्रशस्त गरेर अभिभावकत्व लिन आग्रह गरेका छन् ।
उनीहरूले नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई आग्रह गरेका छन् ।
यद्यपि, केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताएका छन् । ओलीले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
उनले फेसबुकले आफ्नो राजीनामा माग्दैमा नदिने भन्दै महाधिवेशनबाटै छिनोफानो गर्ने प्रस्ट सन्देश दिइसकेका छन् । बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एकजनालाई ३ मिनेट समय दिइएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रममा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो ।
यस्तो धारणा राख्ने केन्द्रीय सदस्य रबिन कोइराला हुन् । ‘अध्यक्ष कमरेड अब तपाईंले बिदा लिनुस् र अभिभावक बन्नुस् । महाधिवेशनका लागि भएकै पदाधिकारीमध्येबाट एकजना संयोजक तोकेर जाऔं’ कोइरालाले प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा जेनजी युवा आन्दोलनमा जनधनको क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सामान्य आत्मालोचना पनि नभएको भनेर पनि विरोध भएको छ ।
‘हामी यत्रो विध्वंसपछि यहाँ छौ । यो विध्वंस हुँदा हाम्रो पार्टी अध्यक्ष देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । यसबखत आएको प्रतिवेदनमा सामान्य आत्मालोचना पनि छैन । यो विडम्बनापूर्ण छ’ कोइरालाको जिकिर थियो ।
आफूले गरेको गल्ती महसुस नगरेको भन्दै उनले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । लेनिनको भनाइ उद्धृत गर्दै उनले भने, ‘जो व्यक्तिले आफ्नो गल्ती महसुस गर्दैन त्यो मानिस होइन ।’
उनले समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए ।